नव गृह सचिव न्यौपानेको जीवन कस्तो छ?
लुम्बिनी पत्र। भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर ३ (साविक झौखेल गाविस) मा रमानाथ न्यौपाने र डोरकुमारी न्यौपानेको कान्छो पुत्ररत्नका रुपमा २०३० साल कात्तिक २ गते जन्मनुभएका महेश्वर न्यौपाने हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव हुनुहुन्छ । उहाँका श्रीमती राधिका अर्याल न्यौपाने, तीन छोरी र एक छोरा छन् ।
आधारभू्त शिक्षा चाँगुनारायण माध्यामिक विद्यालयबाट कक्षा १० सम्म अध्ययन गरेपछि रत्नराज्य क्याम्पसबाट आईए र बीए उत्तीर्ण गर्नुभएका न्यौपाने अंग्रेजी साहित्य, अर्थशास्त्र र भूगोल विषयका ज्ञाता हुनुहुन्छ । स्नातक गरेपछि नै जागिर खान सुरु गर्नुभएका न्यौपानेले २०५२ सालमा भक्तपुरको पुरानो पद्म हाइस्कुललगायत विद्यालयहरुमा अध्यापन गराउनुभयो । आफ्नो उद्देश्य स्नातकोत्तर गर्ने अनि प्राध्यापक बन्ने भए पनि घरको परिवेश, पारिवारिक वातावरण आदिले उहाँलाई निजामती सेवातर्फ नै आकर्षित गरायो ।
अध्ययन र जागिरलाई सँगसँगै लाने उद्देश्यले उहाँले लोकसेवाको तयारीसँगै अंग्रेजी विषयमा मास्टर्स गर्न लाग्नुभयो । १ वर्ष पढिसक्दा फेरि ओरिन्टेसन निजामति सेवा छिर्ने भन्ने भएछ र परीक्षा दिनुभयो । २०५३ सालमा खरिदार स्तरको जाँचमा पास भएर उहाँ सिन्धुपाल्चोकमा गाउँ विकास समिति कार्यालयको सचिव हुनुभयो । एक वर्षपछि ना.सु. भएर उहाँ भक्तपुरको जिल्ला हुलाकमा बस्नुभयो । २०५५ सालमा भूमि सुधार मन्त्रालयअन्तर्गतको भूमि सुधार विभागमा शाखा अधिकृत पदमा रहनुभयो ।
जागिरका क्रममा उहाँले केही समय काठमाडौंमै बिताउनुभयो । त्यसपछि कैलाली सरुवा भयो । त्यहाँ उहाँले मुक्तकमैयाको बसोबास व्यवस्थापनमा धेरै नै प्रशंसनीय कार्य गर्नुभयो । आफ्नै हस्ताक्षरमा झण्डै २५० परिवारलाई जग्गाको लालपुर्जा दिनुभयो । काठ, जग्गा वितरण, तालिमहरु दिने कार्य गर्नुभयो । केही समयपछि काठमाडौं सरुवा भयो र सामान्य प्रशासन मन्त्रालयमा बस्नुभयोे । त्यसपछि उहाँ उपसचिवको तयारीमा लाग्नुभयो । जनप्रशासनमा स्नातकोत्तर पनि गर्नुभयो । परिश्रमको फल मिठो हुन्छ भनेझैँ उहाँले उपसचिव पनि पास गर्नुभयो, मास्टर्स पनि गर्नुभयो । उहाँको रक्षा मन्त्रालयमा २०६१ सालमा उपसचिवका रुपमा पोस्टिङ भयो । न्यौपाने नेपाली सेनाको लोकतान्त्रिकीकरण, आधुनिकीकरणमा संलग्न रहनुभयो । त्यहीँबाट २०६५ सालमा सहसचिव बन्नुभयो ।
सचिव न्यौपाने आफ्नो क्षमताप्रति गर्व गर्दै भन्नुहुन्छ– ‘त्यतिबेला लोकसेवा आयोग पदाधिकारीविहीन थियो । चैतमा फुलफिल भएपछि अन्तर्वार्ता दिएँ, एक नम्बरमा सिफारिस भयो । मैले दोस्रोपटक जाँच दिनुपरेको अहिलेसम्म रेकर्ड छैन ।’ सहसचिव भइसकेपछि उहाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएर कञ्चनपुर पुग्नुभयो । ४ महिनाको छोटो कार्यकाल नसकिँदै चितवन सरुवा भयो सिडिओकै रुपमा । त्यसपछि उहाँले विभिन्न मन्त्रालयमा कार्य गर्नुभयो ।
बहुमुखी प्रतिभाका धनी न्यौपानेको रुचि लेक्चररप्रति पनि बढ्न थाल्यो । व्यक्तित्व विकासका लागि उहाँले केही ठाउँमा व्यवस्थापनका विषयमा लेक्चरर दिनुभयो । किताब, लेखहरु अध्ययन गर्न थाल्नुभयो । उहाँ एउटा राम्रो लेखक पनि हुनुहुन्छ । साहित्यप्रति उहाँको अझ गहिरो रुचि छ । कलेज पढ्दादेखि नै उहाँको लेखन कार्यमा रुचि थियो । त्यही समयमा केही फुटकर कथा र कविताहरु पनि लेख्नुभएको छ । जागिर प्रवेश गरेपछि एकेडेमिक लेखन र अध्ययनले साहित्यलाई पछि पार्दै लगेकोमा आफूलाई दुःख लागेको उहाँ बताउनुहुन्छ ।
सच्चा राष्ट्रसेवक न्यौपाने जागिरकै दौरानमा जनताको सेवा गर्दा आफूले भोगेका अनुभवहरु सुनाउनुहुन्छ– ‘सिडिओ हुँदा शान्तिसुरक्षा, गृह प्रशासन, विकास निर्माणको रेखदेख, सेवा प्रवाहमा जनतालाई प्राथमिकता जस्ता विषयको अनुभव भयो । अहिले पनि म कञ्चनपुर र चितवन जाँदा त्यहाँ साथीभाइहरुले सम्झिनु हुन्छ । मलाई त्यतिखेर अत्यन्त खुसी लाग्छ । छोटो समयमा ठूलो काम त गर्न सकिएन तर, सेवा प्रवाहको प्रभावकारिता, मानिसका समस्यालाई सजिलै सुन्ने, ग्रहण गर्ने कुराहरुले गर्दा अहिले पनि म त्यहाँ जाँदा उहाँहरु भेट्न आउनुहुन्छ । अत्यन्त खुसी लाग्छ ।’
हरेक विषयका ज्ञाता न्यौपानेलाई गृह प्रशासनमा काम गर्दागर्दै अर्थ मन्त्रालयमा सरुवा गरियो । भर्खरको सहसचिव, उहाँको कामप्रतिको लगनशीलता देखेर तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेले ‘तपाईं गृह र सिडिओ होइन, अर्थ मन्त्रालय आउनुपर्छ’ भनेर उहाँलाई सरुवा गर्नुभयो । अर्थमा रहँदा उहाँले भन्सार र कर प्रशासनमा केही समय काम गर्नुभयो । त्यहाँको अनुभव पनि लिनुभयो । त्यसपछि उहाँको निर्वाचन आयोगमा सरुवा भयो । त्यहाँ उहाँ लामै समय बस्नुभयो । २०६८ सालको संविधानसभाको चुनावमा पनि उहाँले धेरै काम गर्ने अवसर पाउनुभयो । मिडिया, निर्वाचन सञ्चालन, अप्रेशन, लजिस्टिक म्यानेजमेन्ट, सुरक्षासँग समन्वय ती सबै काम अत्यन्त गहन रुपमा गर्नुभयो । उहाँ त्यहाँ सहसचिव पदमा हुनुहुन्थ्यो । प्रमुख आयुक्त निलकण्ठ उप्रेती हुनुहुन्थ्यो । उहाँसँग सिधा सम्पर्कमा रहेर अप्रेशनल कामहरु गर्नुभयो । सहयोग परिचालन, डोनरसँग समन्वय, गृह मन्त्रालयसँग समन्वय गर्ने आदि काम भए । निर्वाचनमा सुरक्षाको ठूलो महत्व हुन्छ । त्यतिखेर स्थिति पनि चुनौतीपूर्ण थियो । मिडियामा पर्याप्त सूचना र जनचेतनाका लागि पनि उहाँले प्रशस्त काम गर्नुभयाे ।
उपनिर्वाचन पनि सकिसकेपछि उहाँ उद्योग मन्त्रालयमा सरुवा हुनुभयो । केही समय मन्त्रालयमा बसेर २ वर्ष उद्योग विभागमा बस्नुभयो । विभागको महानिर्देशक भएर उहाँले उद्योगका फाइलहरुलाई डिजिटाइजेसन गर्ने, नयाँ सफ्टवेयर जडान गर्ने, वर्ल्ड बैंकको आइएफसी डोनर कार्यक्रमलाई ल्याएर सम्पूर्ण कामकारवाहीलाई अनलाइनमा रुपान्तरण गर्ने कार्य गर्नुभयो । यसले कर्मचारी, उद्योगी व्यवसायीलाई छिटो काम गराउन सहयोग पुग्थ्यो । उद्योगीहरुलाई सेवा प्रदान गर्न आफ्नो प्रयासबारे उहाँको भनाइ छ– ‘उद्योगीहरुलाई सेवा प्रदानका लागि एकद्वारमा ल्याउन धेरै मेहनत गरिएको थियो । सबै निकायलाई एकै ठाउँमा ल्याउने उद्देश्य थियो । त्यतिखेर महेश बस्नेत उद्योग मन्त्री हुनुहुन्थ्यो । उहाँकै हातबाट अध्यागमनको एउटा युनिटको पनि उद्घाटन गराएको थिए । अध्यागमनले त काम गर्यो तर करलगायत अरु सबै क्षेत्रलाई एकद्वार प्रणालीमा ल्याउने कोसिस गरिरहेकै अवस्थामा मेरो सरुवा भयो ।’
राष्ट्रसेवकले गर्नुपर्ने सेवा, काम कर्तव्य र अधिकारका बारेमा सचिव न्यौपानेको स्पष्ट धारणा छ– ‘हामी राष्ट्रसेवकले सेवाग्राहीलाई छिटोछरितो एवं सरल तरिकाबाट सेवा दिने हो । त्यसो भन्दैमा नहुने कामलाई प्रश्रय दिने भन्ने होइन । नहुने कामलाई यो यो कारणले हुन सक्दैन, यो कागज पुगेन, यी प्रमाण जुटाएर आउनुभयो भने गरिदिन्छौं भनेपछि कन्भिन्स भएर जान्छन् ।’
उद्योगबाट सरुवा भएर न्यौपाने केही समय श्रम मन्त्रालय र केही समय सामान्य प्रशासन मन्त्रालयमा बस्नुभयो । श्रममा बस्दा वैदेशिक रोजगारीमा जानेहरुको कामकारवाहीका मापदण्डहरु, महिलालाई घरेलु कामदारका रुपमा पठाउन रोक्ने विषयलगायतका काम गर्नुभयो ।
सामान्य प्रशासन मन्त्रालयमा जनशक्ति व्यवस्थापनकै काम गर्नुभयो । त्यसपछि उहाँ लगत्तै सचिवमा बढुवा हुनुभयो । सामान्यबाट निर्वाचन आयोगमा सचिव भएर काम गर्नुभयो । एउटा स्थानीय तहको चुनाव पनि सचिव भएरै गराउनुभयो । त्यसपछि पर्यटन मन्त्रालयमा जानुभयो । पर्यटन व्यवसायीहरुसँग गुरुयोजना बनाउने काम गर्नुभयो ।
राष्ट्र र जनताका सेवामा समर्पित स्वाभिमानी राष्ट्रसेवक न्यौपाने कसैको दबाब स्वीकार नगर्ने हठी स्वभावका हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘अन्तिम समयमा केही कुरा मिलेन । तत्कालिन मन्त्री जितेन्द्र देवबाट दबाबका कुराहरु आए । शर्तहरु मानिनँ । म तपाईंसँग बस्दिन भनेँ । मेरो सरुवा भयो । त्यसपछि म सार्वजनिक खरिद ऐनको कार्यालयमा हाजिर भएँ । त्यहाँ खरिदका विषयमा जनशक्तिलाई तालिम दिने, खरिदसम्बन्धी म्यानुअलहरु बनाउने कामको सुरुवात गरेको थिएँ । अहिले कति भयो हेर्नुपर्छ ।’

Comments
Post a Comment