शैक्षिक गुणस्तर सुधार्न सामूहिक प्रतिवद्धता


लुम्बिनी पत्र
खजुरा, भदौ १९ । खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि सामूहिक प्रतिवद्धता जाहेर गरि कार्यान्वयनमा ल्याईएको छ ।
खजुरा गाउँपालिका गाउँ शिक्षा समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापकहरुले खजुरामा आयोजित एक कार्यक्रममा ३१ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन्।
प्रतिबद्धतामा पूर्व प्राथमिक कक्षालाई मन्टेश्वरी पद्धतीको रुपमा विकास गर्ने, कक्षा कोठा  शैक्षिक सामाग्रीयुक्त बनाउने, एक कक्षा कोठामा ४० बढी विद्यार्थी नराख्ने, शिक्षक र विद्यार्थीले अनिवार्य रुपमा पोशाक लगाउने, शिक्षण सुधारको हरेक विद्यालयले अनिवार्य रुपमा योजना बनाउने, विद्यार्थी र शिक्षक दुवैका लागि आचारसंहिता बनाएर लागू गर्ने रहेका छन् ।
यस्तै विद्यार्थी सिकाई चार्ट स्पष्ट झल्किने गरी कक्षामा टाँस्ने, भौत्तिक संरचना नभएका विद्यालयमा भौतिक संरचनाको विकास गर्ने, मन्टेश्वरीमा खजुरा गाउँपालिकाको शिक्षा नियामावलीले तोकेको मापदण्ड कायम गर्ने प्रतिबद्धतामा उल्लेख छ ।
लाइसेन्स प्राप्त शिक्षकलाई परिमार्जित विधि अनुसार मात्र शिक्षकमा छनौट गर्ने , माथिल्लो निकायबाट गरिएका परिपत्र हुबहु कार्यान्वयन गर्ने, झुटोे विवरण पेश नगर्नेे, शिक्षक, कर्मचारीको प्रोफाइल बनाई गाउँ शिक्षा समितिमा पेश गर्ने, जथाभावी शुल्क असुली बन्द गर्ने, अनुगमनलाई तीव्रता, उत्कृष्टलाई पुरस्कृत गर्ने लगायतका प्रतिबद्धताका बुँदाहरुमा खजुरा गाउँपालिकाका सरोकारवालहरुले हस्ताक्षर गरेको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।
खजुरा गाउँपालिका स्रोत व्यक्ति टंक दाहालले संचालन गरेको कार्यक्रममा विद्यालय निरीक्षक विश्वराज ढकाल, शिक्षा समिति सदस्य भक्तबहादुर केसी, जनता नमूना माविका प्रधानाध्यापक शशिराम कार्की, इशाका अध्यक्ष सतिश निरौला, नेरामावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामगोपाल यादव लगायत विभिन्न विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्षहरुले आफ्नो धारणा राख्दै शैक्षिक सुधार अभियानलाई मूर्तरुप दिन लागि पर्ने बताए ।
खजुरा गाउँपालिका भित्र ३१ सामुदायिक १७ संस्थागत विद्यालय संचालनमा रहेको शिक्षा शाखा प्रमुख थापाले बताए ।


Comments

Popular posts from this blog

बस्याल पुलिस अफ द मन्थ भए

व्यक्ति तथा श्रोत नखुलेको भारतिय रुपैया बरामद

डा. संकेत को नेतृत्वमा एक्स जेनेरेसनद्वारा राजापुरमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न