पन्तको हत्यामा संलग्न चार जना लाई प्रहरी ले पक्राउ गर्यो
लुम्बिनी पत्र। कञ्चनपुरको दोधाराचाँदनीका २२ वर्षीय दिपक पन्तको हत्यामा संलग्न चार जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।
बिहीबार बिहान चाँदनी घरदेखि महेन्द्रनगर–मझागाँउ सडक खण्डकाे भीमदत्त नगरपालिका–१८ गोबरैयामा दिपकको चक्कु प्रहारका साथै हेलमेटले हानेर हत्या गर्ने चार युवालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख दिनेश आचार्यले भीमदत्त नगरपालिका ४ गोबरैयामा २२ वर्षीय मनिष नाथ, भीमदत्त नगरपालिका–१५ गोबरैयाका २२ वर्षीय विनोद बोहरा, भीमदत्त नगरपालिका १५ गोबरैयाका २२ वर्षीय गणेश लुहार र भीमदत्त नगरपालिका १५ गोबरैयाकै रविन सिंहले पन्तको हत्या गरेको स्वीकार गरेको बताए । ‘पक्राउ परेका चारै जनाले पन्तमाथि कुटपिट गरेको स्वीकार गरेका छन,' प्रहरी प्रमुख आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’
आचार्यका अनुसार चार जनाले नै पन्तलाई ओभरटेक गर्दै कुटपिट गरेको बताए । ‘मृतक पन्तभन्दा अघि स्कुटी रहेछ,' आचार्यले भने, ‘पछाडिबाट आएको मोटरसाईकले नै मृतकलाई ओभरटेक गरेर कुटेका रहेछन् ।’
मृतक र कुटपिट गर्ने समुहको चिनजान नै नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘उनीहरुकाे आपसमा चिनजान नै रहेनछ,' उनले भने, ‘क्षणिक आवेगमा आएर पन्तमाथि निर्घात कुटपिट गरेका थिए ।’ प्रहरीका अनुसार पक्राउ परेका चारै जना यस अघि पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको खुलेको छ । १८ असोज ०७६ मा साे समुहले भीमदत्त नगरका स्थानीय युवक नितेश खातीमाथि पनि चक्कु प्रहार गरि घाइते बनाएका थिए ।
प्रहरीले उनीहरुको साथबाट चक्कुसहित म ३ प १०७० नम्बरको स्कुटी र से १ प ३७७८ नम्बरको मोटरसाईकल बरामद गरेर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

Comments
Post a Comment