बम विष्फोटमा परी इन्सपेक्टर दाहाल सहित ३को मृत्यु
लुम्बिनी पत्र। धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालमा रहेका दाहाललाई शनिबार बिहान ६ः४० मा डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको मृत्यु भएको थियो ।
इन्सपेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।
राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक अमिर कुमार दाहालसहितको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिडभाड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।
घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।

Comments
Post a Comment