ठाकुरद्वारामा हुने भ्रमण वर्ष सुरुवात र पत्रकारको प्रदेश सभाको तयारी पूरा
लुम्बिनी पत्र । नेपाल भ्रमण वर्ष २०२० को सुरुवात को अवसरमा प्रदेश ५ सरकार, उद्योग पर्यटन तथा वन मंत्रालय र नेपाल पत्रकार महासंघ प्रदेश ५ले बर्दियाको ठाकुरद्वारामा आयोजना गर्ने भ्रमण वर्ष सुरुवात र नेपाल पत्रकार महासंघ प्रदेश ५को साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ। विकास, समृद्धि र पर्यटनका लागि सञ्चार: प्रदेश ५ को समृद्धिको मूल आधार भन्ने मूल नाराका साथ यही पुस १६ र १७ गते वर्दियामा आयोजना गर्न लागिएको नेपाल पत्रकार महासंघ प्रदेश ५को साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको महासंघका प्रदेश अध्यक्ष मौसम रोक्काले बताए।
प्रदेश ५को प्रमुख पर्यटकीय स्थल बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा हुने नेपाल भ्रमण वर्ष २०२० को प्रदेश ५ मा सुरुवात र प्रदेश पत्रकार महसंघको साधारण सभा उद्धघाटन प्रदेश ५का मुख्य मन्त्री शंकर पोख्रेलले पुस १६ गते भव्य समारोहका बिच गर्ने उद्घाटन गर्ने छन्। मुख्यमन्त्री पोख्रेलले दिउँसो १ बजे भ्रमण वर्ष सुरुवातको र ३ बजे साधारण सभाको उद्घाटन गर्ने कार्यकम तय भएको अध्यक्ष रोक्काले बताए । मुख्य मन्त्रीले १६गते ठाकुर बाबा बजारमा रहेको खुल्ला चौरमा भ्रमण वर्ष सुरुवात कार्यकमको र बर्दिया टाइगर रिसोर्ट ठाकुरद्वारामा महासंघको साधारण सभा उदघाटन गर्ने महासंघका प्रदेश महासचिव भेषराज बस्नेतले बताए। साधारण सभा सफल बनाउन प्रदेश अध्यक्ष मौसम रोकाको नेतृत्वमा बाँके र बर्दियाका स्थानीय तहका प्रमुखहरू, महासंघका बाँके र बर्दियामा जिल्ला नेतृत्व र जिम्मेवार पार्षदहरुसंग पनि भेटघाट तथा छलफल गरिएको छ। साधारण सभामा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारी, प्रदेश कार्यसमिति, प्रदेश ५ का १२ जिल्लाका महसंघका प्रदेश पार्षदहरु जिल्ला अध्यक्ष, स्थानिय सरकारका प्रमुख, बर्दिया जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहने अध्यक्ष रोक्काले बताए । प्रदेश ५ को मुख्य पर्यटकीय गन्तव्य को रूपमा वर्दियामा रहेका बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार, सत्खलवा ताल, बढैया ताल, गेरूवा पुलको प्रचार प्रसार गर्न वर्दियामा प्रदेश महसघंको साधारण सभा राखिएको प्रदेश पार्षद यम घिमिरेले बताए।
नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेशस्तरीय कार्यक्रम पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वाराबाट शुभारम्भ गरिने र पत्रकार महासंघको प्रदेश भेला हुने भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । नयाँ वर्षकै दिनमा प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलबाट भ्रमण वर्ष शुभारम्भ हुने कार्यक्रमले ठाकुरद्वाराका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएको पर्या–पर्यटन विकास मञ्चका अध्यक्ष मोहनलाल चौधरीले बताए।
उनका अनुसार भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई सफल बनाउन स्थानीयस्तरबाट पनि पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा भव्य तयारी गरिएको छ । भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले समग्र बर्दियाको पर्यटन व्यवसायलाई फाइदा पुगेको उनको भनाइ छ । पर्यटन तथा होटल व्यवसायी धर्मराज घिमिरेले प्रदेश सरकारले ठाकुरद्वारामा शुभारम्भ गर्न लागेको भ्रमण वर्ष २०२० शुभारम्भ कार्यक्रमले व्यवसायीमा उत्साह थपिएको बताए । “भ्रमण वर्ष शुभारम्भ कार्यक्रमसँगै आन्तरिक पर्यटकको चासो बढेको पाइएको छ”, बबई रिसोर्टका प्रबन्ध निर्देशकसमेत रहेका घिमिरेले भने, “नयाँ वर्ष त्यसै पनि पर्यटकको चहलपहल हुने मौसम हो, त्यसमा भ्रमण वर्ष शुभारम्भ कार्यक्रमले पर्यटकको चाप बढेको छ ।”
अङ्ग्रेजी नयाँ वर्ष र भ्रमण वर्ष शुभारम्भ कार्यक्रमलाई लक्षित गरी बर्दियाका ठूला रिसोर्ट धमाधम बुकिङ भइरहेको उनको भनाइ छ । भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन कार्यक्रमलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी तीव्र पारेको छ ।शुभारम्भ कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक सङ्घसंस्थासँग समन्वय गरिएको समितिका सहसंयोजक माधव नेपालले बताए। उद्घाटन समारोहलाई थप भव्य बनाउन होटल व्यवसायी सङ्घ ५ नं प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाएको सङ्घका प्रदेश समिति अध्यक्ष भास्कर काफ्लेले जानकारी दिए।
बर्दियामा हुने भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रमलाई भव्य बनाउन जिल्लाका आठवटै स्थानीय तहले पनि आ–आफ्नो स्थानबाट तयारी गरिरहेको ठाकुर बाबा नगर प्रमुख घन नारायण श्रेष्ठ ले बताए । कार्यक्रमलाई भव्य बनाउन स्थानीय तहका जनप्रतिनिधि पनि उत्साहका साथ लागिपरेका छन् ।



Comments
Post a Comment